एक चिनियाँ दम्पतीले सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासँग ३२ वर्षपछि पुनर्मिलन गर्न पाएका छन्।
बालकक्षाबाट घर फर्कने बेला उनका लागि बुबाले पानी लिन लाग्दा दुई वर्षीय माओ यीन अपहरणमा परेका थिए। उनका अभिभावकले उनलाई देशभरि खोजे र उनकी आमाले १००,००० भन्दा बढी पर्चा बाँडिन्।
उनीहरूको पुनर्मिलन सोमवार प्रहरीको एउटा पत्रकार सम्मेलनका क्रममा भयो र अहिले ३४ वर्षका ती छोराले आमाबाबुसँग समय बिताउने योजना रहेको बताए। "हामीलाई सहयोग गर्ने दशौँ हजार मानिसहरूलाई म धन्यवाद भन्न चाहन्छु," आमा ली जीन्झीले भनिन्।
माओ यीन सन् १९८६ फेब्रुअरी २३ मा जन्मिएका थिए। साउथ चाइना मर्निङ् पोस्टसँगको अन्तर्वार्तामा उनकी आमाले उनलाई चलाख, सुन्दर र स्वस्थ बालक भनेकी थिइन्।
सन् १९८८ अक्टोबर १७ मा बुबा माओ जेन्जीन्ङ्सँग बालकक्षाबाट घर आउँदै गर्दा उनले पानी मागे। उनीहरू पानीका लागि एउटा होटलको ढोकामा रोकिए र बुबाले पानी ल्याउँदासम्म माओ हराइसकेका थिए।
परिवारले उनलाई शहरभरि खोज्यो तर भेट्न सकेन। आमा लीले जागिर छोडेर छोराको खोजी गर्न थालिन् र १० भन्दा बढी प्रान्तमा एक लाखभन्दा बढी पर्चाहरू बाँडिन् तर कुनै सफलता हात लागेन।
त्यसपछिका वर्षहरूमा उनी थुप्रै टिभी कार्यक्रमहरूमा देखा परिन्। उनले ३०० वटा सूचनाका आधारमा छोरालाई खोजिन् तर पत्ता लगाउन सकिनन्। सन् २००७ मा लीले 'बेबी कम ब्याक होम' नामक स्वयंसेवी संस्था खोलेर हराएका बालबालिका खोज्न सहयोग गर्न थालिन्।
उनले २७ बालबालिकालाई अभिभावकसँग मिलन गराएको चीनको सञ्चारमाध्यमहरूले बताएका छन्।
सञ्चारमाध्यमका अनुसार गएको एप्रिलमा प्रहरीले सिचुआन प्रान्तमा एउटा बालक ३२ वर्ष अगाडि धर्मपुत्र बनाइएको सूचना पायो।
त्यो स्थान अपहरण भएको स्थानभन्दा झण्डै एक हजार किलोमिटरको दूरीमा छ। प्रहरीले धर्मपुत्र बनाइएका एकजना ३४ वर्षीय मानिसको डीएनए परीक्षण गर्यो जुन माओ जेन्जीन्ङ र ली जीन्झीसँग मेल खायो।
नाम फेरेर गू निङ्निङ राखिएका माओ यीनले घर सजावटको व्यवसाय गर्छन् र उनले आफ्नो भविष्यमा के गर्ने भन्ने बारेमा अहिल्यै थाहा नभएको बताए।
प्रहरीका अनुसार उनलाई अपहरणकारीले एक बालबच्चाविहीन दम्पतीलाई छ हजार युआनमा बेचेका थिए। लीलाई चीनको मातृ दिवसको दिन मे १० मा छोरा भेटिएको कुरा सुनाइयो। "त्यो मैले पाएको सबैभन्दा उत्कृष्ट उपहार थियो," लीले भनिन्।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved