विराटनगरका औषधी व्यवसायी देवीप्रसाद दुलालको हत्यामा तीन जना संलग्न भएको पाइएको छ । हत्याको मुख्य योजनाकार श्रीमती मिना श्रेष्ठ दुलाल रहेको र हत्यामा गर्ने विराटनगरकै ब्रह्मदेव साह र इटहरी १२ खनारका सोनु साह छन् ।
थप अनुसन्धानको क्रममा सोनु सोमबार ३ बजे खनारबाट पक्राउ परेका हुन् । सोनु र ब्रह्मदेव साथी हुन् ।
हत्याको पूर्व योजनासहित मीनाले बोलाएपछि शनिबार राति ब्रम्हदेव र सोनु डोरी र हत्याका लागि प्रयोग हुने सर्जिकल ग्लोब्स लिएर आएका थिए । हत्याका क्रममा फिङ्गर प्रिन्ट देखिने डरले उनीहरूले ग्लोब्स लगाएका थिए ।
पक्राउ परेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमतीको योजनामा हत्या भएको बताए ।
यस्तो थियो हत्याको योजना
शनिबार राति दुलालको घरमा औषधि व्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । साथी पुगेपछि दुलालले खानापानको व्यवस्थापन गरे । दुईजना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए ।
मदिरा सेवन गरेका दुलाल कोठामा सुत्न गए । मीना र दुलाल एउटै कोठाको छुट्टा छुट्टै खाटमा सुत्छन् । श्रीमान सुत्न गएपछि ब्रम्हदेवलाई बोलाउँछिन् । न्यूरो अस्पतालको फेसबुक फार्मेसी अगाडि मोटरसाइकल राखेर पैदल दुलालको डेरा पुगेका ब्रम्हदेव र सोनुलाई सिँढीमा लुक्न लगाउँछिन् ।
आधा घण्टापछि मीनाले इसारा गर्दै ढोका खोल्छिन् । भित्र कोठामा दुलाल सुतिरहेका थिए । मदिराको नसामा सुतेका दुलालको घाँटीमा ब्रम्हदेवले डोरीले कस्छन् ।
सोनुले उनको खुट्टा समात्छन् । यो बीचमा दुलालले प्रतीकार गर्न खाजेका छन् । प्रतीकार गर्दा उनको निधार झ्यालमा ठोक्किएर चोट लागेको थियो भने घाँटीमा कस्सिएको डोरी चुँडिएको थियो ।
दुईजनाले हत्या गरिरहँदा श्रीमती मीनाले पनि सघाइन् । सास चल्न बन्द भए पनि उनीहरूले ब्रम्हदेव र सोनुले छाड्दैनन् । पेट र शरीरका अन्य भागमा लात्तीले हान्छन् ।
हत्याका क्रममा संघर्ष चल्दा दुलालको घाँटीमा गहिरो डाम बसेको थियो । डाम देखिएपछि छोप्न भन्दै मीनाले एक बट्टा पोन्ड्स पाउडर लगाइदिइन् । ११ बजेदेखि करिब आधा घण्टाको प्रयासमा दुलालको ज्यान गयो । तर हत्यापछि तीनजना दुई बजेसम्मसँगै बसे ।
२ बजेपछि सोनु र ब्रम्हदेव निस्किएपछि मीनाले छिमेकी र देवीप्रसादका साथीलाई फोन गरी श्रीमान अचेत छन् भन्दै बोलाइन् । एम्बुलेन्समा हालेर गोल्डेन अस्पताल ल्याएका थिए । अस्पतालले मृत घोषणा गरेपछि मीना रुन थालेकी थिइन् ।
प्रहरीका अनुसार चार वर्षअघिदेखि पाँच महिनाअघिसम्म ब्रम्हदेव दुलालको माँ देवी पाथिभरा फर्मामा काम गरे । यो बीचमा दुलालकी श्रीमतीसँग ब्रम्हदेवको हिमचिम बढेको थियो ।
श्रीमतीसँगको सम्बन्ध थाहा पाएका कारण श्रीमान्–श्रीमतीमा बेमेल थियो । आफ्नो श्रीमानले गरेको व्यवहार मीनाले ब्रम्हदेवलाई सुनाउँथिइन् । उनले श्रीमानलाई सबक सिकाउने योजना रहेको बताउँथिइन् । ब्रम्हदेवले गत माघमा विवाह गरेको थिए । तर मीनासँगको संवाद निरन्तर चलिरहेको थियो ।
शनिबार राति एउटा बेडमा श्रीमती मीना र ८ वर्षीय छोरा सुतेका थिए । दुलाल छुट्टै बेडमा सुतेका थिए ।
दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए ।
मीना श्रेष्ठसँग उनले १० वर्षअघि प्रेम विवाह गरेका थिए । उनका ८ वर्षीय छोरा छन् । उनीहरू वैदेशिक रोजगारीका लागि डेनमार्क पनि पुगेका थिए ।
यस अघि :
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved