इटहरी बजार क्षेत्रबाट पछिल्लो केही महिना यता बाइक चोरीका घटनामा वृद्धि भइरहेको थियो । व्यस्त बजारको पार्किङ क्षेत्र र घरबाट समेत बाइक चोरी हुन थालेपछि इटहरीका तत्कालीन डिएसपी खगेन्द्र खड्कामाथि विभागीय ‘प्रेसर’ बढ्दै गएको थियो । सरुवा जाने समय कुरेका खड्काले अन्तिम समयमा इटहरीमा बाइक चोरीमा संलग्न गिरोहलाई जेलको हावा खुवाएरै जाने अठोट गरे ।
खड्काले इलाका प्रहरी कार्यालय इटहरीका सहायक हवल्दार सम्बर बहादुर तिवारीको कमाण्डमा माघ १३ गते एउटा टिम बनाए । तिवारीको कमाण्डमा एक महिलासहित ६ जना सादा पोसाकका प्रहरीलाई इटहरीमा बाइक चोरीमा संलग्नहरूलाई एक हप्ता भित्र नियन्त्रणमा लिन निर्देशन दिए ।
यो बिचमै फेरी एउटा बजाज कम्पनीको कालो (एनएस) बाइक चोरी भयो ।
एनएस बाइक चोरी भएको समयको सिसिटिभी फुटेज तिवारीको टिमले अध्यन गरे । सिसिटिभी फुटेजमा यस अघि इटहरीबाट जति बाइक चोरी भए त्यसमा संलग्न हुनेहरू भन्दा भिन्न समूह देखा परे । दुई जनाको मात्र समूहमा रहेका यी चोरले पछिल्लो एक महिना यता इटहरीमा बाइक चोरी गरिरहेका थिए ।
डिएसपी खड्काको निर्देशनपछि सम्बरको टिमले शङ्कास्पद क्षेत्रमा दुई जनाको खोज तलाससँगै उनीहरूको कनेक्सन खोज्न थाले ।
दुई मध्ये एक जनाको सिसिटिभी फुटेजबाट हुलिया ‘क्लियर’ भएपछि टिमलाई थप सहज भयो । नभन्दै एक जना बाइकमा नम्बर प्लेटमा लेख्ने व्यक्ति यो टिमको सम्पर्कमा रहेको पत्ता लगाउछन् । ती नम्बर प्लेट लेख्ने व्यक्तिले दुई जनाको समूहले आफूलाई दुई पटक बोलाएर फरक फरक नम्बर प्लेट लेख्न लगाएको प्रहरीलाई बताउछन् ।
यही ‘लिड’ मार्फत सम्बरको टिमले यी दुई जनाको खोजी गर्न थाल्छन् । यतिकैमा माघ १७ गते नम्बर प्लेट लेख्ने व्यक्तिलाई त्यही शङ्कास्पद दुई व्यक्तिले फोन गरेर इटहरीको खनारमा एउटा बाइकको नम्बर लेख्नु छ भनेर कल गर्छन् ।
सम्बरको योजना अनुसार नम्बर लेख्ने व्यक्तिलाई ‘फलो’ गर्ने र बाइक चोरलाई पक्राउ गर्ने योजना अनुसार थप मद्दतको प्रहरी टोलीसहित खनारमा प्रहरी परिचालन हुन्छ ।
योजना अनुसार नम्बर प्लेट लेख्नेलाई लिएर प्रहरीको टोली खनारमा पुग्छन् । खनारको मुख्य सडकदेखि पूर्वपटिको होटेलमा नम्बर प्लेट लेख्नेलाई ती चोरले फोन मार्फत बोलाउँछन् ।
उनलाई पछ्याउँदै गएका साधा पोसाकका प्रहरीले ठिक त्यही समयमा एकै साथ दुई जनालाई घेरेर तत्कालै पक्राउ गर्छ । उनीहरूको साथबाट त्यही बजाजको एनएस बाइक समेत बरामद हुन्छ जुन केही दिन अघि इटहरीबाट चोरी भएको थियो । त्यही बाइकको नम्बर प्लेट परिवर्तन गर्न नम्बर प्लेट लेख्नेलाई चोरले बोलाएका हुन्छन् ।
पक्राउ पर्नेमा अरु कोही नभई सोही बाइक चोरी गर्दा सिसिटिभीमा देखिएका इटहरी १० का २९ वर्षीय मुकेश कोइराला हुन्छन् । अर्का भने इटहरी १२ का ३० वर्षीय सुजित मग्राती हुन्छन् ।
तर यता प्रहरीले दुवैलाई नियन्त्रणमा लिने क्रममा सुजितले भने कम्मरबाट केही कुरा निकालेर फ्यालेको जस्तो सम्बरको टिमलाई लाग्छ । उनले फ्यालेको ठाउँमा गएर हेर्दा लाइभ ६ राउण्ड गोली लोड भएको चाइनिज अटोमेटिक पेस्तोल बरामद हुन्छ । बाइक चोरीमा संलग्नहरूको खोजीमा गएको प्रहरीले पेस्तोल समेत बरामद गरेपछि प्रहरी झस्किन्छन् ।
पेस्तोल बोकेर बाइक चोरी गरी हिँड्ने गिरोह समूह नै प्रहरी फन्दामा परेपछि डिएसपी खड्काले प्रहरीको लागि ठुलो सफलता हात पारेको बताउँछन् । इटहरी प्रहरीको लागि झन् अर्को सफलता हात पारेको तब थाहा हुन्छ जब पक्राउ परेका मध्ये सुजित मग्राती गत पुस २३ गते धरान २ को मास्के ज्वेलर्समा पेस्तोल देखाएर लुटपाट गरेको घटनामा वान्टेड अपराध निस्किन्छन् ।
मग्रातीले ३ जनाको समूह बनाएर धरानमा ज्वेलर्स लुट्ने योजना बनाएका थिए । तर लुटपाट योजना असफल भएपछि उनी सुनसरी प्रहरीको लागि वान्टेड अपराधी थिए ।
मग्रातीको पृष्ठभूमि भोजपुरमा आफनै साथीको हत्या गरेर ७ वर्षको जेल सजाय पाएका व्यक्ति हुन । उनी १६ महिना अघि मात्र जेल जीवन कटाएर बाहिर आएका थिए । जेल जीवन कटाएर मग्रातीले भारतको जगोवनीबाट ७० हजार रुपैयाँमा उक्त पेस्तोल किनेको प्रहरी अनुसन्धानले देखाएको छ ।
मग्रातीको योजनामा अनुसार कोइरालाको साथबाट इटहरीमा प्राय बुलेट बाइक चोरी गर्ने उनीहरूको रणनीति थियो । पल्सर बाइक धेरै चोरी हुन थालेपछि उनीहरूले पल्सरदेखि माथिका महङगो बाइक टार्गेट गर्ने उनी चोरी हुन साथ तत्कालै भारत कटाउने उनीहरूको योजना थियो ।
इटहरीका तत्कालीन डिएसपी खड्काका अनुसार यी दुई जनाको समूहले प्राय बुलेट बाइक बढी चोरी गर्ने गरेको बताउँछन् । नेपालमा चोरी गर्ने र भारतमा लगेर ६० देखि ८० हजार रुपैयाँसम्ममा बेच्ने गरेको अनुसन्धानमा देखिएको उनले बताएका छन् । अनुसन्धानको क्रममा प्रहरीले चोरीको बाइक राखेको आरोपमा थप एक जनालाई पक्राउ गरेको थियो ।
यी दुई चोर पक्राउ गरेसँगै डिएसपी खगेन्द्र खड्काको इटहरी छाडेर जाने बेल बाइक चोरीमा संलग्नलाई जेलको हावा खुवाउने अठोट समेत पुरा भएको छ । जसलाई सम्बरको अनुसन्धान र कमाण्डले सफल बनाइदिएको छ ।
को हुन सम्बर ?
सहायक हवल्दार सम्बर बहादुर तिवारी इलाका प्रहरी कार्यालय इटहरीको सूचना सङ्कलन गर्ने साधा पोसाकका प्रहरी कमाण्डर हुन । उनको कमाण्डमा इटहरीमा घटेका धेरै जसो घटनामा प्रहरीले सफल अनुसन्धान गरेको छ । र यही घटनामा सम्बरले देखाएर कार्य सम्पादनको मुल्याङकन गदै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
माघ महिनाको पुलिस अफ द मन्थबाट सम्बरसहित १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका पूजन राईसमेत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । उत्कृष्ट बनेका प्रहरी दुवैको फोटो फागुन महिना भर सबै जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा राखिने छ । सङ्गठनले आफ्नो कामको मुल्याकन गरेको प्रति खुसी भएको उनले प्रतिक्रिया दिएका छन् ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved