मोरङमा कमजोर मिसिल बनाएर हत्याका आरोपीलाई उन्मुक्ति दिएको प्रहरीमाथि आरोप लागेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले दियुस श्रेष्ठको हत्याको घटनामा कमजोर मुद्दा बनाएका कारण हत्यामा अभियुक्तहरूले उन्मुक्ति पाएको भन्दै पीडित परिवारले यस्तो आरोप लगाएका हुन । पीडित परिवारले पत्रकार सम्मेलन गर्दै न्यायका लागि माग समेत गरेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले दोषीलाई कानुनी कारबाही गराउने वचन दिए पनि सेटिङमा कमजोर मिसिल बनाएर हत्यामा मुख्य अभियुक्तहरूलाई उन्मुक्ति दिएको पीडित परिवारको आरोप छ । ‘न्याय पाउने आसमा बसे पनि प्रहरीकै मिलेमतोमा हत्यारालाई बचाउने काम भयो,’ मृतकका बुवा धनबहादुर श्रेष्ठले भने, ‘प्रहरीको भूमिकामै हामीलाई शङ्कास्पद भएकाले निष्पक्ष छानबिन हुन सकेन ।’
मृतककी आमा सुभद्रा श्रेष्ठले पनि प्रहरीले न्याय नदिएको बताउनुभयो । उनले भने, ‘छोराले मृत्यु हुनु अगाडि च्यान्टेसहित ४ जनाले छुरी हानेको बताएको थियो, त्यही कुरा प्रहरीलाई जानकारी गराउँदा पनि कमजोर मिसिल बनाएर हत्याका अभियुक्तहरूलाई उन्मुक्ति दिन काम भएको छ ।’
च्यान्टे भनिने सन्देश खवासका बुवा सन्तोष खवासले पनि पैसाको चलखेलमा अन्यलाई उन्मुक्ति दिएर आफ्नो छोरालाई मात्रै थुनामा राखेको बताउनुभयो । ‘कुटपिट गरेर एक्लैले मारेको भन्न लगाइएको रहेछ,’ उनले भने, ‘दोषीहरूलाई कारबाही हुनुपर्छ, कसैलाई उन्मुक्ति दिनु हुन्न ।’
कार्तिक १३ गते छठ पर्वको दिन दियुस श्रेष्ठको छुरा प्रहार गरी हत्या भएको थियो । प्रहरीले श्रेष्ठको हत्याको अभियोगमा सरोज बस्नेत, सन्देश खवास, विकास तामाङ, मन्जिल माझी, सपन खत्री, प्रतीक बराइली, सरोज परियार र सनिस याक्खालाई पक्राउ गरेको थियो । तर, च्यान्टे भनिने सन्देश खवासबाहेक सबै धरौटीमा रिहा भएका छन् ।
अल नेपाल सञ्चार मिडिया नेटवर्क प्रा.लि. बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2023 - Aparadh News All rights reserved