लेटाङ घटना : ‘रक्सी पिएका युवाहरूले प्रहरीलाई लखेटी लखेटी आक्रमण गरे’

alt
  • चैत्र ७, २०७८
  • अपराध न्यूज

शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै पुगेर यौन दुर्व्यवहार गरेका थिए । रङ खेल्दै ती शिक्षक छात्राको घर पुगेका थिए । रङ खेल्ने क्रममा उनले छात्राको संवेदनशिल अङ्गमा हात लगाएको आरोप छ ।

शनिबार पीडित छात्राको अभिभावकले शिक्षकले गरेको व्यवहारको विषयमा प्रअलाई जानकारी गराए र आइतबार विद्यालयमा छलफल राख्ने सहमति बनेको थियो । यता शिक्षकले बिद्यालयकै छात्रालाई यौन दुर्व्यवहार गरेको हल्ला विद्यालयमा क्षणभरमै फैलियो ।

आइतबार दिउसो आरोपित शिक्षकलाई बोलाएर छात्राको अभिभावकबीच विद्यालय तर्फबाट छलफल गराइएको थियो । 

तर विद्यालय बाहिर विद्यार्थी र स्थानीयहरूको भिडले शिक्षक विरुद्ध नाराबाजी गर्न थाले । यसै क्रममा आक्रोशित विद्यार्थीले यौन दुर्व्यवहार गर्ने शिक्षक पौडेलको मोटरसाइकल तोडफोड गदै आगो लगाए । 

प्रअको कोठामा छलफल भइरहदा बाहिर बिद्यार्थीसगै स्थानियहरुको ठुलो भिड जम्मा भइसकेको थियो । प्रदर्शनले उग्र रूप लिन थालेपछि इलाका प्रहरी कार्यालय लेटाङले थप मद्दतको लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग सहयोग माग्यो । 

भित्र छलफलबाट यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीकहाँ बुझाउने सहमति बन्यो । तर बाहिर तोडफोड र आगजनी हुन थालेपछि मोरङका एसपी जनार्दन  जिसी थप प्रहरीको मद्दत लिएर विद्यालय पुगेको थियो ।

कानूनी कारबाही गर्नको लागि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङ लैजान खोजेपछि प्रर्दशनकारी र प्रहरीबिच विद्यालय परिसरमै तनावको स्थिति बन्न पुग्यो । सो क्रममा प्रहरीले आक्रोशित विद्यार्थीमाथि सामान्य लाठीर्चाज गरेको थियो । स्थिति झनै उग्र बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो । यही प्रहरी टोलीमा प्रहरी जवान उर्मिला श्रेष्ठसमेत लेटाङ पुगेकी थिइन ।

प्रहरीको संख्या बढाइएपछि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लैजाने क्रममा विद्यालय अगाडि प्रर्दशनकारी विद्यार्थी र प्रहरीबिच पुर्न झडप भएको थियो । प्रहरीले गाडीमा राखेर शिक्षकलाई प्रहरी कार्यालय लगेपछि आक्रोशित विद्यार्थी र स्थानियको समूहले पछाडि रहेको प्रहरीमाथि आक्रमण गर्यो । 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार राती ७ं.३० मा प्रहरीले विद्यालयबाट शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीको टोली फर्किएपछि अन्तिममा रहेका प्रहरीमाथि आक्रमण भएको हो ।

‘गाडीमा रहेका प्रहरी हिँडेपछि पैदल रहेका प्रहरीमाथि अन्धाधुन्ध आक्रमण भयो’ स्थानीय प्रत्यक्षदर्शी भन्छन्, ‘प्रहरीमाथि आक्रमण गर्ने केही विद्यार्थीको पोशाकमा थिए कोही नयाँ अनुहारका थिए । उनीहरूको हातमा रड, खुकुरी, भाला पेट्रोल बम थियो ।’ 

प्रहरीमाथि आक्रमण गर्नेहरू प्राय २० देखि २५ उमेर समूहका थिए र उनीहरू अत्याधिक नशामा थिए । आक्रमणकारी केही युवाहरू रक्सी पिउदै हिँडेका पनि थिए । अराजक समूहले प्रहरीलाई लखेटी लखेटी आक्रमण गरे । 

विद्यालयबाट शिक्षकलाई बाहिर निकाल्न खोज्दा आक्रोशित समूहले शिक्षकलाई जलाउन समेत खोजेका थिए । त्यस क्रममा पेट्रोल बम प्रहरी नजिकै खसेको थियो । 

महिला प्रहरीमाथि पनि यही समूहले आक्रमण गरेको थियो । उनलाई छुरा वा खुकुरी जस्तो देखिने धारिलो हतियारले घाँटीमा प्रहार गरिएको छ । महिला प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले आत्मरक्षाको लागि गोली चलाएको थियो । गोली लागेर केही प्रदशनकारी घाइते भएका छन् । 

नं प्रदेश प्रहरी प्रमुख डिआईजी अरुण बिसीका अनुसार अन्य प्रहरीको हताहती हुन नदिन गोली चलाएको बताए । 

‘हामीले अत्यन्त संयम भएर शिक्षकलाई प्रहरी कार्यालय ल्यायौ, यो क्रममा प्रर्दशनकारीको ढुग्गा लागेर धेरै प्रहरी घाइते भइसकेका थिए’ बिसीले अपराध न्यूजसँग भने, ‘पछाडि बाँकी रहेका प्रहरी टोलीमाथि एक्कासि आक्रमण भयो।’  

‘प्रहरीको जिम्मेवारी जस्तोसुकै दोषीलाई सहि सलामत कानूनी कठघरामा उभ्याउनु हो, प्रर्दशनकारीले शिक्षकलाई जिउदै जलाउने खोजेका थिए ।’  ‘हामीले त्यो अप्रिय घटना हुनबाट जोगायौ’ डिआइजी बिसी भन्छन्, ‘दुवै पक्षलाई जोगाउने क्रममा हाम्रो एक महिला प्रहरीको मृत्यु भयो।’ ‘पछाडि रहेका प्रहरीमाथि पनि धारिलो हतियारबाट आक्रमण हुन थालेपछि हामीले गोली चलाएका हौ ।’ 

प्रदर्शनकारी मापसे गरेर आएका कारण माहोल उत्तेजीत बनेको डिआइजी बिसीको निष्कर्ष छ । प्रहरीको ज्यान जाने गरि भएको घटनामा छानबिन गरिने र दोषीलाई कारबाही हुने बिसीले अपराध न्यूजसँग बताए । 

डिआइजी बिसीका अनुसार घटनामा २९ जना प्रहरी घाइते मध्य १४ जना उपचार गरि फर्किएको र बाँकी १५ जनाको उपचार भइरहेको छ ।  १५ जना मध्ये एक जना सई साँव र एक महिला प्रहरी गम्भीर अबस्थामा उपचार भइरहेको छ । घाइतेको मोरङको विभिन्न अस्पालमा उपचार भइरहेको छ ।

‘अहिले कर्फ्यु आदेश जारी गरिएको छ । प्रहरीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्नको लागि ‘सर्च अभियान’ चलाएका छौ’ बिसीले भने, ‘केही पक्राउ परिसकेका छन् ।’

प्रहरी स्रोतका अनुसार लेटाङमा अहिले झण्डै ४ सय प्रहरी परिचालन गरिएको छ । 

कर्फ्यु आदेश जारी 

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदर्शनकारीको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।

दक्षिणमा लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले जारी गरेको सूचनामा उल्लेख छ । 

सम्बन्धित समाचारहरु

लागुऔषध सहित ४ जनाला ...

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको ...

किर्ते मुद्दामा फरार ...

सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार रहेकी प्रदेश १ की सांस ...

दुर्घटनामा घाइते भएक ...

उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा ६ जना बिरामी बन्धक भएका छन् । दुई साता ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2022 - Aparadh News All rights reserved