धरानको विनोद मृत्य प्रकरणमा ‘क्रिप्टोकरेन्सी’ जोडियो, अनुसन्धानको लागि इन्टरपोलको सहयोग

alt
  • कार्तिक ७, २०७८
  • अपराध न्यूज

मनोज भुजेल । सुनसरीको धरान ५ सुन्दर बस्तीमा गत साउन १४ गते ४७ वर्षीय विनोद लिम्बुको शव आफ्नै घर भित्र रहेको पानी भर्न प्रयोग हुने हिल ट्याङ्क भित्र भेटियो । लिम्बुको घाटी रेटिएको र हातका विभिन्न भागमा धारिलो बस्तुले काटिएको पोस्टमार्टम रिर्पाेटले देखाएको थियो ।

घरमा एक्लै बस्दै आएका लिम्बुको शंकास्पद रुपमा शव भेटिएपछि घटनाको अनुसन्धानको लागि केन्द्रिय अनुसन्धान ब्युरो, साइबर ब्यूरो, प्रदेश १ प्रहरीको आरआईटी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त अनुसन्धान टोलीले अझै यो केशमा अनुसन्धान गरिरहेको छ । 

प्रहरीको संयुक्त अनुसन्धान टोलीले लिम्बुको हत्या वा आत्महत्या भएको भनेर दुई कोणबाट अनुसन्धान गरिरहेको छ । र घटनाको एउटै कारण डिजिटल मनी अर्थात ‘क्रिप्टोकरेन्सी कारोबार’ भएको प्रहरीको अनुमान छ । 

मृतक लिम्बुको अनलाइन मार्फत हुने कारोबार क्रिप्टोको (हाइफरफण्ड) मा लगानी रहेको अनुसन्धानबाट खुलेको छ । यसमा उनको इजरायलमा रहेकी श्रीमतीको समेत कारोबार रहेको देखिन्छ । बिट क्वाइन मार्फत चल्ने यसको कारोबारमा लिम्बुको करिब २७ लाख रुपैयाँ फसेको र यसैको कारण उनको पार्टनरबाट हत्या भएको हुन सक्ने अनुसन्धान अधिकृतको अनुमान छ । यस्तै लिम्बुको साथमा रहेको उनको मोबाइलको ‘नोट्स’ मा श्रीमतीको नाममा म्यासेज लेखिएको छ । 

नोट्सको म्यासेजमा पनि लिम्बुले क्रिप्टो कारोबारको बिषयमा कुरा उल्लेख गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत बताउँछन् । उनले क्रिप्टो कारोबारको लागि आवश्यक क्वाइन गायब भएको र क्वाइन निकाल्ने पासवर्ड कसैले चोरेको कुरा नोट्समा उल्लेख गरेका छन् । र कारोबार मिलाउन नसक्ने भन्दै उनले माफी माग्दै श्रीमतीलाई सम्झिएका छन् । 

उनले मोबाइलमा नोट्स लेखे पश्चात छुराले आफ्नै गला रेटेको हुन सक्ने पनि प्रहरीको अर्को अनुमान छ । तर मृतकले आत्महत्या गर्ने मनसाय बनाएर त्यस्तो कार्य गरेपनि ट्याङ्क भित्र पस्ने कुरा ‘अस्वभाविक’ भएको अनुसन्धान अधिकृतको बुझाई छ । 

सीआईबी, आरआईटी र धरान प्रहरीको संयुक्त अनुसन्धान टोलीले अहिले मृतक लिम्बुको श्रीमतीलाई इजरायलमा झिकाएर अनुसन्धान गरिरहेको छ । यस्तै लिम्बुको क्रिप्टो कारोबारका पार्टनरहरूलाई समेत पहिचान गरी सोधपुछ भइरहेको घटनामा संलग्न अर्को अनुसन्धान अधिकृत बताउँछन्

‘नेपालमै रहेका उनका पार्टनरहरूको अनुसन्धान भइरहेको छ’ ति प्रहरी अधिकृतले अपराध न्युजसँग भने ‘बाँकी विदेशमा रहेकाहरूको त्यहाँको दुतावास र इन्टरपोलको सहयोगमा अनुसन्धान भइरहेको छ ।’ 

‘क्रिप्टो कारोबार नेपालमा प्रतिबन्धित छ । त्यस कारण मृतक लिम्बू र उनको श्रीमतीको कारोबारको विषयमा बुझ्ने काम भइरहेको कारण यो घटना अनुसन्धान लम्बिएको हो, अब चाडै घटनाको सत्यतथ्य बाहिर आउने ति प्रहरी अधिकृतको दाबी छ ।’

लिम्बुको शंकास्पद मृत्युको अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल पनि यो घटना आर्थिक कारोबारसँग ‘कनेक्सन’ भएको बताउँछन् । ‘मृतकको विदेश बस्दादेखिको कारोबार बिग्रेको देखिन्छ, डिजिटल मनी सम्बन्धी कारोबार रहेको अनुमान छ ।’

‘धेरै व्यक्ति अनुसन्धानमा छन् ’ दाहालले भने : ‘अनुसन्धानको समय सिमा हुन्न चाडै यसको निष्कर्ष आउनेछ ।’ 

यता इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले पनि लिम्बुको शंकास्पद मृत्यु जटिलनै भएको बताउँछन् । विदेशमा नेट मार्फत चल्ने क्रिप्टो कारोबार यो घटनासँग जोडिएको हुनसक्ने हाम्रो अहिलेसम्मको अनुसन्धान छ । 

‘यसको कारोबार विदेशबाटै हुने भएकाले लिम्बू इजराइल बस्दादेखिको कनेक्सन खोतल्दै छौ’ डीएसपी कुँवरले भने ‘जसमा हामीले प्रहरीको साइबर ब्यूरो र सिआइबी मार्फत इन्टरपोलको समेत मद्धत लिइरहेका छौ ।’

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सी (Crypto currency) शब्द दुई वटा अंग्रेजी शब्द जोडिएर बनेको छ। क्रिप्टो अर्थात गुप्त वा गूढ र करेन्सी अर्थात मुद्रा। अतः शाब्दिक रुपमा पनि क्रिप्टोकरेन्सी भन्नाले विनिमयका माध्यमका रुपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। सिक्का र नोटहरुको जस्तो यसको भौतिक अस्तित्व रहँदैन।

अर्थात, यसलाई सिक्का र नोटजस्तो छुन, पट्याउन वा खल्तीमा राख्न सकिँदैन। यसमा कारोबारहरुलाई सुरक्षित राख्न, तिनलाई रुजू गर्न र नयाँ मुद्रा निष्काशन गर्न संकेताक्षरको सहारा लिइन्छ। क्रिप्टोकरेन्सी डाटाबेसमा राखिएका ती सीमित प्रविष्टि  (इन्ट्री) हुन् जसलाई खास पूर्वशर्त पूरा नगरीकन कसैले पनि फेर्न वा बदल्न सक्दैनन्।

विगतमा क्रिप्टोकरेन्सीलाई कारोबारको माध्यमको रुपमा स्वीकार गर्न व्यापार, व्यवसायहरु हच्किन्थे। तर, अहिले अवस्था फेरिईसकेको छ। अहिले अनलाइन वा अफलाइनमा धेरै व्यापारीहरु छन् जसले बिटक्वाइनलाई भुक्तानीको एक साधनको रुपमा स्वीकार्दछन्। पश्चिमा मुलुकमा ठुल्ठुला अनलाइन बिक्रेतादेखि साना स्थानीय पसल, बार र रेष्टुरेण्टमा बिटक्वाइन चल्न थालिसकेको छ। साथै, होटल, उडान, गहना, कम्प्युटर आदिका लागि मात्र होइन कलेजको फी तिर्नसमेत बिटक्वाइन चल्न थालिसकेको छ। बिटिफाई र ओपनबजारजस्ता केही अनलाइन शपिङ्ग साइटहरु छन् जसले केवल क्रिप्टोकरेन्सीमात्र स्वीकार गर्छन्।

किनमेलका अतिरिक्त क्रिप्टोकरेन्सीलाई लगानी गर्नमा समेत प्रयोग गर्न सकिन्छ। अचेल, शेयर बजारपछि सबैभन्दा आकर्षक लगानी क्रिप्टोकरेन्सीमा मान्न थालिएको छ। 

 सम्बन्धित समाचार :

धरानमा ‘हिल ट्याङ्क’ भित्र पुरुषको शव फेला, प्रहरीको संयुक्त टोलीले अनुसन्धान गदै

यो पनि :

कसरी भित्रियो धरानमा २२ तोला भन्दा बढी ‘अबैध’ सुन ?

 

 

 

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved