बिहीबार धरान २ स्थित रत्न रोडमा दुईजना शंकास्पद व्यक्तिले ठुलो परिमाणमा सुन र नगद बोकेर हिँडेको सूचना १ नं. प्रदेश प्रहरीको विशेष रिजनल इन्भेष्टिगेशन टिम (आरआईटी) का प्रहरी अधिकृतलाई आउँछ ।
रत्न रोडमा प्राय सुन पसलहरू बढी हुने भएकाले दशैँ सुरक्षामा खटिएका इलाका प्रहरी कार्यालय धरानको सादा पोसाकको प्रहरी त्यतै परिचालित भइरहेका हुन्छन् । आरआईटीका प्रहरी अधिकृतले सूचना पाउन साथ धरान र आरआईटीको संयुक्त टोलीले शंकास्पद ति व्यक्तिको पहिचान गरि निगरानी बढाउँछन् ।
ति दुईजनाले रत्न रोडका केही सुन पसलमा झोलामा रहेको सुनको बाला खरिद गर्न व्यवसायीलाई आग्रह गर्छन । तर बिल बिनाको सुन खरिद गर्न व्यवसायीहरू राजी हुदैनन् ।
त्यतिकैमा रत्न रोडमै रहेको न्यु सूर्य लक्ष्मी स्टोरमा पनि यी दुईजना व्यक्ति आफूसित भएको सुन खरिद गर्न त्यहाँका व्यवसायी संविधान शाक्यलाई आग्रह गर्छन ।
दुवैको निगरानी गदै पछ्याइरहेको प्रहरी टोलीले न्यु सुर्य लक्ष्मी स्टोर अगाडिबाट दुईजनालाई नियन्त्रणमा लिने प्रयास गर्छ । तर झोलामा रहेको सुन फ्याँकेर भाग्ने कोसिस गर्दा दुवैजना पक्राउ पर्छन् ।
पक्राउ पर्नेमा धरान १५ का ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३३ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । रामबहादुर मामा र चन्द्र भान्जा हुन् । दुवैको साथबाट प्रहरीले ५ वटा सुनको बाला र नगद १८ लाख बरामद गर्छ । सुनको बालाको कुल तौल २२ तोला २ आना २ लाल रहेको प्रहरीले जनाएको छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।
पक्राउ परेका मध्ये भान्जा चन्द्र २५ दिनको बिदामा कतारबाट हालै मात्र घर आएको खुलेको छ । प्रहरीले उनिहरुबाट बरामद भएको सुनको कुनैपनि बिल अहिलेसम्म बरामद गर्न सकेको छैन भने नगद १८ लाखको कुनै श्रोत खुलाउने आधार फेला पार्न सकेको छैन ।
तर प्रहरी स्रोतका अनुसार पक्राउ परेका मामा भान्जासँगै थप सुनका बाला रहेको दाबी गरिएको छ । त्यो सुनको बाला उनीहरूले धरानकै अन्य सुन पसलमा बिक्री गरिसकेको र बरामद नगद त्यसैको भएको अनुमान गरिएको छ । प्रहरीको संयुक्त अनुसन्धान टोलीले उनीहरूको साथबाट बरामद भएको नगद १८ लाख रुपैयाँ सुन बेचेरै प्राप्त भएको आधारमा त्यस क्षेत्रका अन्य सुन पसलहरूको सोधपुछ गरिरहेको छ ।
प्रहरीले मामा भान्जासँगै बरामद गरेको सुन नेपालमा पाउने भन्दा राम्रो ‘क्यारेट’ को भएको जनाइएको छ । श्रेष्ठ मामा भाञ्जासँगको सोधपुछबाट पनि सुन विदेशबाट ल्याएको दुवैले दाबी गरिरहेका छन् ।
विदेशबाट आउने नेपालीहरूलाई प्रति व्यक्ति ५० ग्राम भन्दामाथि सुन ल्याउन छुट छैन । ५० ग्राम बराबरको सुनको बिल अनिर्वाय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा देखाए मात्र सुन घर ल्याउन मिल्ने व्यवस्था छ । यदपी विमानस्थलबाट सुन ‘सेटिङ’ मार्फत नेपाल भित्रने गरेको कयौं उदाहरण छन् ।
प्रहरीले बरामद गरेको सुन विदेशबाट फर्किएका धेरैजनाको हुन सक्ने वा बिमानस्थलबाटै ‘सेटिङ’ गरि नेपाल भित्रिएको हुन सक्ने आधारबाट यसको ‘कनेक्शन’ अध्यान गरिरहेको छ।
यो प्रकरणमा अब प्रहरीले बरामद गरेको सुन र व्यक्तिको पूर्ण अनुसन्धान राजस्व अनुसन्धान कार्यालय इटहरीले गर्नेछ । अनुसन्धान कार्यालयले बरामद भएको सुन र नगदको श्रोत खोज्ने, बयान लिने र न्यायिक प्रकृया अघि बढाउने इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले अपराध न्यूजलाई जानकारी दिए ।
बरामदी सामान र व्यक्तिलाई आजै राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाउने उनले बताए ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2022 - Aparadh News All rights reserved