सुनसरीमा ट्राफिक जवानले लात्ती हानेर गराएको दुर्घटना ‘गुपचुप’ बनाइयो

alt
  • आश्विन ११, २०७८
  • अपराध न्यूज

सुनसरीको दुहबीमा सबारी चेकिङको क्रममा मोटरसाइकल चालकमाथि ट्राफिक प्रहरीले लात्ती हानेर गराएको दुर्घटना गुपचुप बनाउन खोजिएको छ । कोशी राजमार्गको दुहबी ८ स्थित जुट मिल अगाडि शनिबार बेलुका प्रहरीको संयुक्त चेकजाँचको क्रममा विराटनगरबाट इटहरी तर्फ आँउदै गरेको को ३८ प ९२४८ नम्बरको मोटरसाइकल चेकजाँचमा नरोकिएपछि ट्राफिक प्रहरी जवान जनक न्यौपानेले लात्तीले ‘लेगगार्ड’ मा हानेका थिए । प्रहरी जवानको लात्ती प्रहारले अनियन्त्रित भएको मोटरसाइकल अर्को मोटरसाइकलसँग जुधेको थियो । 

सो क्रममा मोटरसाइकलमा सवार मोरङ केराबारी ८ का तुलसी प्रसाद फुँयाल र इटहरीबाट विराटनगर जाँदै गरेको को ३० प २३५८ मोटरसाइकलमा सवार इटहरी ४ का इमान राई र सिता घिमिरे घाइते हुन पुगेका थिए । फुँयालको गाला र घुँडामा चोट लागेको थियो भने इमान राई र सिता घिमिरेको हात र निधारमा चोट लागेको थियो । दुहबीकै स्थानीय अस्पतालमा तीनैजना उपचार पश्चात घर फर्किएका छन् । 

तर यो घटनामा लात्ता प्रहार गर्ने ट्राफिक प्रहरी जवान न्यौपानेलाई जोगाउदै घाइतेको उपचार खर्च बेहोर्न सहमति गरिएको थियो । इलाका प्रहरी कार्यालय दुहबीमा भएको दुवै पक्षको छलफलमा लात्ता हान्ने प्रहरीले तीनैजनाको उपचार खर्च बेहोर्ने सहमति भएको हो ।  

लाइसेन्स नभएका कारण फुँयालले तीब्र गतिमा मोटरसाइकल भगाएको अनुसन्धानबाट खुलेको छ । 

प्रहरी जवानको यो हर्कत लुकाउन ट्राफिक प्रहरी पोष्ट दुहबी र १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सहयोग गरेको छ । ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडासँग यो प्रसङ्गमा प्रतिकृया लिदा उनले घटना ट्राफिकसँग सम्बन्धित नभएको भनी गैरजिम्मेवारी जवाफ दिएका थिए । 

‘घटना भएको मलाई जानकारी छैन, यो विषय हाम्रो हैन, जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझ्नु होला’ भनेर एसपी खतिवडाले जवाफ फर्काएका थिए । 

तर लात हान्ने प्रहरी जवानलाई घटनास्थलबाट भगाउन प्रहरीलाई हम्मे हम्मे  परेको थियो । स्थानीय, सबारी चालक तथा घाइतेका आफन्तले ति प्रहरीलाई घेरेर हातपात गर्ने प्रयास गरेका थिए ।  सडक अवरुद्ध बनाएर ति प्रहरी जवानको हर्कतको व्यापक विरोध भएको थियो । 

यता १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमन तिम्सिनाले पनि प्रहरीको कारण नभइ तीब्र गतिले अनियन्त्रित भएको मोटरसाइकल अर्कासँग जुधेको बताए ।  ‘चेकजाँचको क्रममा हामीले रोक्न खोज्यौ, तर मोटरसाइकल चालक प्रहरी देखेर भाग्ने क्रममा दुर्घटना भएको हो’ उनले भने ‘प्रहरीमाथि लगाइएको आरोप सरासर गलत हो ।’ 

ट्राफिक प्रहरीले नै यदि लात्ता हानेको अवस्था भए, छानबिन हुने डीएसपी तिम्सिनाले प्रतिबद्धता जनाए ।

‘ठुलो दुर्घटना टर्यो’

ट्राफिक प्रहरीकै कारण दुईवटा मोटरसाइकल दुर्घटना हुन पुगेको चेकजाँचमा रहेका प्रत्यक्षदर्शी र स्थानीय बताउँछन् । ‘धन्न मोटरसाइकल मोटरसाइकल जुध्यो, ठुलो सबारी साधन थियो भने बाइक चालकको ‘स्पोटडेथ’ हुने स्थिति थियो’ प्रत्यक्षदर्शी स्थानीय ब्रिकम साहले अपराध न्युजलाई भने ‘यसको सबै दोष ति ट्राफिक प्रहरी हुन् ।’

‘निकै तीब्र गतिमा थियो बाइक । जनपद र ट्राफिक प्रहरीले रोक्न इसारा गदै थिए, तर त्यो बाइक चालक नजिकै आएर भाग्ने कोसिस गरे ।  तर ट्राफिक प्रहरी जवान न्यौपानलेले लात्तीले हाने र बाइक अनियन्त्रित भएर अर्कासँग जुध्यो ।’ 

बाइक जुधेपछि स्थानियहरुले ट्राफिक प्रहरीको यस्तो हर्कत बिरुद्ध एक घण्टा सडक अवरुद्ध गरेको साह बताउँछन् । ‘लात्ता प्रहार गर्ने ति ट्राफिक प्रहरी जवानलाई कारबाही गर्नुपर्ने मागसहित सडक अवरुद्ध गरेका थियौ, पछि इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुमले बिभागिय कारबाही हुने आस्वाशन दिएपछि सडक सुचारु भएको थियो । तर अहिले दुर्घटनाको सहमति छ र ति प्रहरीलाई जोगाउन खोजिदै छ ।’  

साह भन्छन्: ‘ट्राफिक जवानको त्यो हर्कतले चालकको ज्यान जाने अवस्था हुन सक्थ्यो। तर भाग्यले ठुलो दुर्घटना हुन पाएन ।’ नियम कानून कार्यान्वयन गर्ने प्रहरीकै यस्तो सनकपनलाई गुपचुप राखेर घटना लुकाउन खोज्नु गम्भीर विषय भएको उनको भनाई छ ।

अर्का प्रत्यक्षदर्शी एवम सबारी चालक जगतबहादुर तामाङले बाइक दुर्घटना हुनुमा ट्राफिक प्रहरी जवानको बढी दोष रहेको बताए । कतिपय ट्राफिक प्रहरीको यस्तो हर्कत र व्यवहारको कारण चालहरुले दुख पाउने गरेको उनि बताउँछन् । 

सम्बन्धित समाचारहरु

बुबालाई सम्झाउँदा उल ...

सोलुखुम्बुस्थित सोलु–दूधकुण्ड नगरपालिका वडा नं. ५ का ५० वर्षीय मोहन बराइली सुन चादी व्यवस ...

डिएसपी कार्कीलाई प्र ...

छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक ...

एकादशीमा मापसे गरेका ...

इलाममा आफ्नै दाइको धारिलो हतियार प्रहारबाट भाइको हत्या भएको छ । सोमबार इलामस्थित सन्दकपुर गाउँपालिका ...

सामाजिक संजाल

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved