सङ्खुवासभामा ६ जनाको ‘सामूहिक हत्या’अनुसन्धानको लागि एसपी दाहालको टोली घटनास्थल जाँदै

alt
  • भदौ २१, २०७८
  • अपराध न्यूज

सङ्खुवासभाको मादीमा एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ को अनुसन्धानको लागि प्रहरी उपरीक्षकको नेतृत्वमा बिशेष टोली घटनास्थल पठाइएको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीको निर्देशनमा सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमान्डमा विशेष टिम घटनास्थल जाँदै छ ।

अनुसन्धान टिममा प्रदेश प्रहरीको (रिट) समूह समेत संलग्न छ । दाहाल नेतृत्वको विशेष टिममा ‘ट्रयाकर’ डग पिकु र लैला समेत सहभागी छ । साथै फरेन्सिक विज्ञको टोली पनि घटनास्थल जादैछ । 

घटनास्थल भौगोलिक रूपले बिकट रहेको छ । चैनपुरबाट ६ घण्टाको दुरीमा घटनास्थल रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी नेतृत्वको टोली पनि घटनास्थल जादैछ ।

तर बर्खाले बाटो बिग्रिएका कारण घटनास्थल पुग्न अझै केही घण्टाको पैदल दुरी पार गर्नु पर्ने अवस्था रहेको डिएसपी लालध्वज सुवेदीले बताए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुगिसकेको छ र घटनास्थललाई सुरक्षित बनाइएको छ ।

प्रहरी उपरीक्षक दाहाल नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुग्न करिब ५ घण्टा लाग्ने बताइएको छ । दाहाल अपराध अनुसन्धानमा कुशल अनुसन्धानकर्ता हुन । सिआइबीमा लामो समय काम गरेका दाहाल १ नं. प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (रिट) को स्थापनाकर्ता पनि हुन । दाहालको नेतृत्वमा ७ जनाको विशेष टिम घटनास्थल जाँदै गरेको हो ।

१ नं. प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा विशेष टिम पठाइएको बताए । घटना अनुसन्धानको लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुई वटा कुकुर समेत पठाइएको उनले बताए । घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकामा प्रहरी परिचालन गरिएको डिआइजी बिसीले अपराध न्युजसँग बताए ।

के हो घटना ?

सङ्खुवासभाको मादी नगरपालिका १, खोला गाउँमा आज बिहान एकै परिवारका ६ जनाको शङ्कास्पद अवस्थामा शव फेला परेको थियो । मृतकहरूको टाउको र  शरीर भर धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय बौद्धमान कार्कीको घरमा यो घटना भएको प्रहरीले जनाएको छ । कार्कीको घरमा चहलपहल नभएपछि स्थानीय छिमेकीले हेर्दा सबै मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको हो ।

शव फेला पर्नेहरूमा बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्की छन् । शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको अवस्था छ ।

सम्बन्धित समाचारहरु

माईखोलामा महिलाको शव ...

इलामको माई नगरपालिका–२ स्थित माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। खोलाको बीचमा ढु ...

प्रहरी हिरासतभित्र आ ...

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्र भएको मृत्युको घटनाका अनुसन्धान गर्न गृह मन्त्रालयले सहसच ...

सुनसरीमा ट्राफिक जवा ...

सुनसरीको दुहबीमा सबारी चेकिङको क्रममा मोटरसाइकल चालकमाथि ट्राफिक प्रहरीले लात्ती हानेर गराएको द ...

रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६

Copyright © 2019 / 2021 - Aparadh News All rights reserved