मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)का चार जना कारोबारीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।
ब्राउन सुगर अन्तर्राष्ट्रिय बजारमा महँगो र उच्च गुणस्तरमध्येको लागुऔषध मानिन्छ । विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई युवा र उर्लाबारीबाट एक युवतीसहित दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
उनका अनुसार उर्लाबारी नगरपालिका–६ मा रहेको होटल ह्याभन भ्यालीबाट मोरङको रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बू पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर फेला परेको छ । बरामद भएको यो परिणाम धेरै रहेको प्रहरीको भनाइ छ ।
एसपी खड्काका अनुसार ब्राउन सुगरको कारोबार गर्नकै लागि दुवै जना मिलेर होटलको कोठा बुक गरेको पाइएको छ । भारतको पानी ट्यांकीबाट नेपाल भित्राएका उनीहरुको नेपालका विभिन्न भागमा सप्लाई गर्ने योजना थियो । तर प्रहरीले पक्राउ गरेपछि उनीहरुको योजना सफल हुन पाएन । प्रहरीका अनुसार उनीहरु कारोबारी र सेवनकर्ता भएको खुलेको छ ।
होटलको कोठा नम्बर ६ बाट पक्राउ परेका भट्टराई र लिम्बूको साथबाट प्रहरीले ब्राउन सुगरको खरिदबिक्रीमा प्रयोग गरिने नापतौल मेसिन पनि बरामद गरेको छ । मेसिन नै बरामद भएपछि र होटलको कोठामा योजना बनाएर अन्यत्र सप्लाई गर्ने तयारी गरिएका कारण उनीहरु यसको कारोबारमा संलग्न रहेको पुष्टि हुने प्रहरीको भनाइ छ ।
एसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट होटलमा छापा हान्न प्रहरी पुग्दा दुवै जना ब्राउन सुगर सेवन गर्ने तयारीमा रहेको पाइएको छ । उनीहरुले झोला र होटलको कोठाभित्र रहेको खाटमुनि लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।
रिफ्रेस मिडिया नेटवर्क प्रा.लि बाट संञ्चालित | दर्ता नं.: २१६३३६/७५/०७६ | अस्थाई लेखा नम्बर: ६०९५४६९५२ | सम्पर्क: ९८६२०१३०१६
Copyright © 2019 / 2021 - Aparadh News All rights reserved